काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।
‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भू-राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनैपनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दृष्चक्रमा पारिँदै छ ।’
यसअघि सो नागरिकता विधेयकमा ६ वटा संसोधन प्रस्ताव राखेका रावलले कविता वाचन गर्दै, ‘के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?’ भनि विधेयक समितिमा लैजान माग गरेका छन् ।
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् । माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाए पनि हाल सो प्रावधानविना नै नागरिकता दिने विषयमा सहमति जनाएपछि सांसद बाँस्कोटाले व्यंग्य गरेका हुन् ।
यस्तै, नेकपा एमालेका सांसद नरबहादुर धामीले नागरिकता विधेयक फास्ट ट्रयाक पारित गराउन नहुने भन्दै पुनः संसदीय समितिमा पठाउन माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्दै धामीले भू-राजनीतिक अवस्थाका कारण पनि नागरिकता विधेयकलाई ‘फास्ट ट्रयाक’ पारित गराउन नहुने तर्क गरेका छन् ।
यसैगरी, नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताको तर्फबाट बोल्दै दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो? भन्दै प्रश्न पनि गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनुअघि अन्तवार्ता लिनु पर्ने प्रस्ताव गरेको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीकातर्फवाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन् ।
‘नेपालमा जन्मेर मात्रै हुदैँन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ बर्ष पछि र बेलायतमा ६ बर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० बर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ।’ जारी बैठकमा सरकारले पेश गरेको नागरिकता बिद्येयकका बारेमा छलफल जारी छ ।
एमाले सांसद गंगा चौधरी (सत्गौवा)ले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले सार्क मुलुकको सदस्य नेपालले सार्क देशमै नभएको विदेशी महिलालाई विवाह गरेर आएलगत्तै नागरिकता दिने व्यवस्था देश हितविपरीत रहेको बताइन् । १२ बुँदै सम्झौतापछि सजिलै नागरिकता पाउने ढोका खोलेको आरोप लगाउँदै उनले ४० लाख विदेशीले नागरिकता लिएको बताए । उनीहरुको सन्तानलाई वंशजका आधारमा नागरिकता दिए, देश कता जान्छ रु उनले बैठकमा प्रश्न गरे ।
विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो रु उनको प्रश्न थियो ।
एमाले सांसद कृष्णप्रसाद दाहालले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी भएर संशोधन प्रस्ताव पेस गर्दै उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएका हुन् ।
लैंगिक समानताको दृष्टिकोणले पनि नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताउँदै उनले बरु नागरिकता दिने समयावधि बढाउन सकिने बताए ।