काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताएकी छन्।
शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) दोस्रोले स्किलिङ नेपाल फाउण्डेशनको सहकार्यमा आज आयोजना गरेको ‘राष्ट्रिय सीप प्रतियोगिता–२०७९’ को समापन कार्यक्रममा उनले युवालाई स्वदेशमा तालिम प्रदान गरी उनीहरुको ज्ञान, सीप र क्षमतालाई मुलुकको विकासमा लगाउनुपर्ने बताइन्।

पुरस्कार दिँदै राज्यमन्त्री बोधमायाकुमारी यादव
‘मुलुकको समग्र विकासका लागि देशको कुना कन्दरा तथा विश्वभर छरिएर रहेका युवालाई स्वदेशमै टिकाइराख्ने वातावरण निर्माण गर्नुपर्छ’, उनले भनिन्। राज्यमन्त्री यादवले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाद्वारा सञ्चालित कार्यक्रमले युवालाई सीप अभिवृद्धि गर्न र रोजगारीको क्षेत्रमा धेरै हदसम्म सहयोगी भूमिका निर्वाह गर्ने बताइन्।
परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारी प्रदान गर्न परियोजनाले काम गर्दै आएको बताए।

रिवन काट्दै परियोजनाका निर्देशक चन्द्रकान्त भुसाल
उनले नवीनतम सोचका साथ अगाडि बढेको उक्त परियोजनाले देशका विभिन्न स्थानमा बसोबास गर्ने १५ देखि ४० वर्षसम्मका एक लाख १५ हजार विपन्न, दलित, महिला तथा अपाङ्ग व्यक्तिलाई छोटो समयको तालिम प्रदान गर्ने लक्ष्य लिएको उल्लेख गरे।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घका अध्यक्ष अच्युत नेपालले मुलुकको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न प्रकारका तालिमको खाँचो रहेको उल्लेख गरे। ‘तालिम नदिई रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभए देशको विकास हुँदैन, देशको विकासका लागि तालिम अपरिहार्य छ’, उनले भने।

परियोजनाका उपनिर्देशक खेमनाथ पोखरेल ले मुलुकको विकासका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको धारणा राखे।
राष्ट्रिय सीप प्रतियोगिता सम्पन्न
परियोजनाको आयोजना तथा स्किलिङ नेपाल फाउण्डेशनको सहकार्यमा राष्ट्रिय सीप प्रतियोगिता–२०७९ सम्पन्न भएको छ । देशभरका झण्डै ७० युवायुवती सहभागी उक्त प्रतियोगितामा पुरुषतर्फ नारायणप्रसाद पाण्डे र महिलातर्फ रोजी घर्तीमगर प्रथम हुनुभएको छ । दुवैजनाले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे।

यस्तै, पुरुषतर्फ विनोद थारु दोस्रो र सुजन प्रसाईं तेस्रो हुनुभएको छ भने महिलातर्फ शर्मिला महत दोस्रो र रुपा थापा तेस्रो भएका छन्।
उनीहरुलाई क्रमशः रु २० हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

