काठमाडौँ । आठौँ चुरे दिवसको अवसर नेपाली सेनाको बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा देशभरका चुरे क्षेत्रहरुमा ‘एक दिनमा एक लाख विरुवा वृक्षारोपण’ भन्ने नाराका साथ आज मिति २०७९ असार ०२ गते सिन्धुली जिल्ला, दुधौली नगरपालिका, वडा नं.३, झुँगास्थित विशाल सामुदायिक वन ईलाकामा सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा ‘बृहत वृक्षारोपण कार्यक्रम–२०७९’ सम्पन्न भएको हो ।
नेपाली सेना र श्री राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुले करिब १६,२०० ९सोह्र हजार दुई सय० वटा विभिन्न प्रजातीका वोटविरुवाहरु वृक्षारोपण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा मन्तव्य राख्नु हुँदै सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिकाको प्रशंसा गर्नु हुँदै नेपाली सेना र श्री राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको सहकार्यमा भएको वृक्षारोपण कार्यले ग्लोबल वार्मिङ्लाई केही हदसम्म सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रमुख माननीय श्री यादव चन्द्र शर्मा, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री रामसहाय प्रसाद यादव, बागमती प्रदेशका माननीय मुख्य मन्त्री श्री राजेन्द्र प्रसाद पाण्डे, नेपाली सेनाका बलाध्यक्ष रथी श्री सरोज प्रताप राणा, मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशका प्रमुख सचिव श्री मुकुन्द प्रसाद निरौला, राष्ट्रपति कार्यालयका प्रमुख निजी सचिव डा। भेषराज अधिकारी तथा सल्लाहकारहरु, वन मन्त्रालयका सचिव डा.श्री पेम नारायण कंडेल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष, सदस्य सचिव तथा अन्य पदाधिकारीहरु, दुधौली तथा कमलामाई नगरपालिकाका नगर प्रमुखहरु, सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, जिल्लास्थित कार्यालयका प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
1655396347.JPG)