काठमाडौँ। इंग्ल्याण्डको कोलबर्न टाउन काउन्सिलरको मेयरमा डा. जगन्नाथ शर्मा निर्वाचित भएका छन् ।
गत ५ मेको स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरुको सोमबार सम्पन्न पहिलो बैठकले डा. शर्मालाई सर्वसम्मत मेयर पदमा निर्वाचित गरेको हो ।
उनी उक्त काउन्सिलमा सन् २०१५ देखि २०१६ सम्म उपमेयर र सन् २०१९ देखि २०२० सम्म मेयर थिए । शर्मा सन् २०१२ देखि काउन्सिलर छन् ।
कोलबर्न टाउनका ११ जना काउन्सिलरबाट उनी सर्वसम्मत मेयर चुनिएका हुन् ।
‘साथीहरुले ममाथि जुन विश्वास गरेर जिम्मेवारी सुम्पिएका छन्, यसले थप दायित्ववोध गराएको छ’, शर्माले भने, ‘स्थानीय मतदाताको चाहना बमोजिम सेवा प्रदान गर्न र विकास निर्माणमा अबको कार्यकाल खर्चने छु ।’
शर्मा बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन् ।
रोयल आर्मी मेडिकल कोर्पसमा रिजर्भड आर्मी अफिसर समेत रहेका पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् ।
सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए ।
स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् ।
रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।
शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।
उनी यूके तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा विद्यावारिधि (पिएचडी) विद्यार्थीको वाह्य परीक्षक पनि हुन् ।