रामेछापको मन्थली नगरपालिका वडा नं. १३, साँखे (फुलासी) मा निर्मित नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन्।
रामेछापको मन्थली नगरपालिका वडा नं. १३, साँखे (फुलासी) मा निर्मित नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन्।

सबस्टेसन स्वदेशी पुँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो। माथिल्लो तामाकोसी आयोजनाले यसअघि ढल्केबरमा नेपालकै ठूलो ढल्केबर सबस्टेसन बनाई सञ्चालन गरिसकेको छ।
रामेछापको नयाँ खिम्ती सबस्टेसन देशको दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत् जडान हुने उक्त सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणको भनाइ छ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट यस नयाँ खिम्ती सबस्टेसन जडान भइसकेको छ। माथिल्लो तामाकोसीका अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’बाट उत्पादित विद्युत् सबस्टेसनमा जोडिएको छ।
त्यस्तै यस सबस्टेसनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा लगिएको छ। ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्वपश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गरिएको छ।
नयाँ खिम्ती सबस्टेसनबाट ४६ किमि लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ केभी सबस्टेसन हुँदै राष्ट्रिय विद्युत प्रणालीमार्फत काठमाडौं उपत्यकामा विद्युत् प्रवाह भइरहेको छ।
नयाँ खिम्ति सबस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्विचगियर बे (Gas Insulated Switchgear -GIS bay) ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्विचगियर बे (Air Insulated Switchgear Bay) छन्।
साथै सबस्टेसनमा २२०/१३२ केभी, ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमर जडान गरिएको छ। करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसन क्षेत्रमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेसन निर्माण गरिएको हो।
शनिबार उद्घाटन कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न गरिएको र यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए।
घिसिङले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजना स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको बताए।
दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत् उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई ठूलो मद्दत पुर्याइरहेकाे छ।
वार्षिक २ अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुने आयोजनाले दोस्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दै छ। रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुक्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत् ऊर्जा थप हुनेछ।
उपभोक्तालाई सस्तामो बिजुली उपलब्ध गराउने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रतियुनिट औसत ४.०६ रुपैयाँ विद्युत् खरीद बिक्री दर छ। यसबाट आम उपभोक्ताले सस्तो मूल्यमा बिजुली पाउनाका साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ।
माथिल्लो तामाकोसी सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङले बताए।
उनले भने, ‘पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली रुपैयाँ ३२ प्रतियुनिटसम्म पुगेको अवस्थामा तामाकोसीको विद्युत् खरिद दर यो साल अधिकतम नेपाली रुपैयाँ ६.९६ मात्र रहेकाले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको छ।’