काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमाका तिथी अर्थात् फागुपूर्णिमा (होली पर्व) । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने फागुपूर्णिमा होली पर्व आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानको लीलामा विश्वास गर्दैनथे। उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुक परम भक्त थिए । हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठाँन्दथे। तर, उनको पुत्र उनको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे। त्यो कुरा उनले सहन सकेन। जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।
अन्ततः उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए। तर, अग्निमा बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन। उल्टै होलिका भने भस्म भइन्।
अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ।
बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेसमा होलीको रुपमा मनाइँदै छ।
होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश
जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरे । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताए ।
सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरुपमा मनाउन आह्वान गरेका छन् ।