काठमाडौँ । आज शेर्पा समुदायको महान पर्व, ग्याल्पो ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यही ६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् ।
ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
यस्तै, सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् ।
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी हुन् ।