काठमाडौँ, ४ पुस (सामाजिक सञ्चार): दिनप्रति दिन बढ्दै गएको सवारी साधन दुर्घटनाबाट बच्न र बचाउन सवारी नियम पालनाको विकल्प नरहेको बताइएको छ । सडक अनुशासन तथा सवारी साधन दुर्घटना न्यूनीकरणका लागि आजदेखि प्रदेश नं १ को १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह–२०७८ को सन्दर्भमा सो धारणा आएको हो ।
सो अवसरमा प्रदेश नं १का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी दिनुभयो । यस प्रदेशमा आव २०७५/७६ मा ३१३, २०७६/७७ मा ३३२, २०७७/७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ भन्दै उहाँले यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताहअन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको छ भन्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले व्यवस्थित र सुरक्षित जीवनयापन गर्न अनुशासित भई सवारी नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गर्नुपर्ने सुझाव दिनुभयो । मन्त्री कार्कीले कोशी ब्यारेजदेखि मेचीसम्म र रानीदेखि धरानसम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्ने योजना र विराटनगरको ट्राफिक व्यवस्थापनका लागि पुरानो गुद्रीमा स्मार्ट पार्किङ बनाउन केही समयपछि नै विराटनगरमा प्रदेशस्तरीय बसपार्क शिलान्यास गरिने जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्री जयराम यादवले मादकपदार्थ सेवनबाटै सबैभन्दा बढी सवारी दुर्घटना भइरहेकाले मानिसले नैतिक आचरण र व्यवहार सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यातायात आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र व्यवसायी महासङ्घ प्रदेश नं १ का अध्यक्ष सरोज श्रेष्ठले पनि सवारी साधनको दुर्घटनाबाट पर्ने असरबारे चर्चा गर्नुभयोे ।
ट्राफिक सप्ताह शुभारम्भ:
सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात वर्षीया बालिका रिसिका भण्डारीलाई ‘स्लो ड्राइभ लङफाइफ’ लेखिएको हेल्मेट लगाएदिएर ‘ट्राफिक सप्ताह २०७८’ शुभारम्भ गर्नुभएको हो । आजदेखि सुरु भएको अभियान पुस १० गतेसम्म सञ्चालन हुनेछ । त्यसअघि ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, जेव्राक्रसबाट बाटो काट्ने यात्रीलाई प्राथमिकता दिऔँ’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरि गरिएको थियो ।
विर्तामोडको हनुमान सेन्टरबाट सुरु गरिएको प्रभातफेरि बजार परिक्रमा गर्दै सोही स्थानमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरिमा नागरिक समाज, विभिन्न संघसंस्था, विद्यार्थी, सरकारी निकायका प्रमुखलगायत पाँच सयभन्दा बढी सहभागी थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निषेश चापागाईंले दुई पाङ्ग्रे सवारी साधनबाट दुर्घटना बढी भएकाले प्रतिकात्मक रुपमा ‘स्लो ड्राइभ लङफाइफ’ लेखिएको हेल्मेट बालिकालाई लगाएदिएर कार्यक्रम शुभारम्भ गरिएको बताउनुभयो ।
‘सातै दिन सातै काम सडक सुरक्षा हाम्रो अभियान’ नारासहित सुरु भएको अभियानअन्तर्गत मुख्य चोकहरुमा पाँच विद्यार्थी, दुई स्काउट स्वयम्सेवक र दुई ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउनेलगायत काम गरिने उहाँले जानकारी दिनुभयो । सोही अभियानअन्तर्गत स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासँग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री हटाइने भएको छ ।
प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रलाय र इटहरीस्थित एक नम्बर ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रदेशका १४ वटै जिल्लामा आज विहान एकैसाथ कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फोटो-फिचर:
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विराटनगरमा आइतबार सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण ‘ट्राफिक सप्ताह–२०७८’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण ‘ट्राफिक सप्ताह–२०७८’ को शुभारम्भ कार्यक्रममा आइतबार विराटनगरमा बालिकालाई हेलमेट लगाई जनचेतना जागृह गराउँदै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मन्त्रालय र प्रदेश ट्राफिक कार्यालयले संयुक्त रुपमा प्रदेशका १४ वटै जिल्लामा सुरु गरेको सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण ‘ट्राफिक सप्ताह–२०७८’ कार्यक्रम विराटनगरमा आइतबार उद्घाटन गर्दै ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण ‘ट्राफिक सप्ताह–२०७८’ शुभारम्भ कार्यक्रमलाई विराटनगरमा आइतबार सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश ट्राफिक कार्यालयले संयुक्त रुपमा प्रदेशका १४ वटै जिल्लामा आजदेखि ट्राफिक सप्ताह सुरु गरेको छ ।

विराटनगरमा आइतबार आयोजित सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण ‘ट्राफिक सप्ताह–२०७८’ शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सामाजिक विकासमन्त्री जयराम यादव ।

ट्राफिक सप्ताहअन्तर्गत आइतबार इलाममा निकालिएको प्रभातफेरीमा सहभागी सुरक्षा निकायका प्रतिनिधि, सवारी व्यवसायी तथा चालक एवं विद्यार्थी र स्थानीय बासिन्दा ।

ट्राफिक सप्ताहअन्तर्गत आइतबार इलाममा निकालिएको प्रभातफेरीमा सहभागी सुरक्षा निकायका प्रतिनिधि, सवारी व्यवसायी तथा चालक एवं विद्यार्थी र स्थानीय बासिन्दा ।
