काठमाडौं, मंसिर १२ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको हनुमानढोकास्थित नासल चोक डबलीमा आयोजित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको १२ वर्षे देवीनाच अवलोकन गर्नुभएको छ।
नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी हुनुभएको हो।
कार्यक्रममा राष्ट्रपति पौडेलले परम्परागत देवीनाच अवलोकन गर्नुका साथै पूजाअर्चना गर्नुभएको थियो। सो अवसरमा उहाँले पुजारीबाट टीकाप्रसादसमेत ग्रहण गर्नुभएको थियो।
काठमाडौं उपत्यकाको मौलिक नेवारी संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परासँग जोडिएको १२ वर्षे देवीनाच विशेष सांस्कृतिक महत्वको पर्वका रूपमा परिचित छ। पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यस नाचले नेपालको मौलिक कला, संस्कृति, धार्मिक विश्वास र सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
१२ वर्षमा एकपटक आयोजना हुने यस पर्वले काठमाडौंको सांस्कृतिक पहिचानलाई जीवन्त राख्नुका साथै नयाँ पुस्तामा मौलिक परम्परा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ।
राष्ट्रपतिको सहभागिताले नेपालको अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत कला तथा धार्मिक संस्कृतिको संरक्षण र प्रवर्द्धनप्रति राज्यको चासो र महत्वलाई थप उजागर गरेको छ।
सामाजिकसञ्चार डटकम परिवार
#SamajikSanchar #Devinach #HanumanDhoka #NepalCulture #PresidentRamChandraPaudel