सप्तरी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अलपत्र तथा अवरुद्ध रहेका विकास योजनाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शुक्रबार सप्तरीको राजविराज नगरपालिका–१५ स्थित शीत भण्डारको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री रावलले लामो समयदेखि अवरुद्ध योजनाहरूको सञ्चालन प्रक्रिया सप्तरीबाटै सुरु गर्ने बताउनुभएको हो।
अनुगमनका क्रममा मन्त्री रावलले तिलाठी कोइलाडी गाउँपालिका–४ डलवास्थित मुसहर बस्ती पुगेर स्थानीयवासीका समस्या तथा गुनासा समेत सुन्नुभएको थियो। स्थानीयले विशेषगरी सुरक्षा, जग्गाको स्वामित्व र आवासको समस्याबारे ध्यानाकर्षण गराएका थिए।
मन्त्री रावलले भूमिहीन दलित बस्तीका बासिन्दालाई कानुनी प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। कानुनी मापदण्ड पूरा गर्ने परिवारलाई लालपुर्जा वितरण गरिने र अन्य परिवारका हकमा समेत कानुनअनुसार स्वामित्व प्रदान गर्न सकिने विकल्प खोजिने उहाँको भनाइ थियो।
बस्तीमा निर्माण गरिएका घरहरू परिवारको सङ्ख्याको तुलनामा अपर्याप्त रहेको उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार आवास व्यवस्थापनमा पहल गर्ने बताउनुभयो।
स्थानीयका अनुसार विसं २०७४ को बाढीपछि निर्माण गरिएको उक्त बस्तीमा ५२ परिवार बसोबास गर्दै आएका छन्। परिवारको सङ्ख्या बढ्दै जाँदा आवास तथा जग्गा व्यवस्थापनमा समस्या देखिएको छ।
मन्त्री रावलसँगै सप्तरी निर्वाचन क्षेत्र नं. ४ का सांसद सीताराम शाह, खगेन्द्र कर्ण र बब्लु गुप्तासहितको टोलीले बस्तीको स्थलगत अवलोकन गरेको थियो।
वर्षौँदेखि रोकिएका विकास आयोजना सञ्चालन, भूमिहीन नागरिकको जग्गा स्वामित्व सुनिश्चितता तथा स्थानीय समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री रावलको प्रतिबद्धताले स्थानीयमा नयाँ आशा जगाएको छ।