काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।
संघको शुक्रबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। यसअघि संघको उपाध्यक्ष रहनुभएका रेग्मीले माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालालाई प्रतिस्थापन गर्नुभएको छ।
त्यसैगरी, कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल संघको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष रेग्मीले नेपालको बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले कृषि तथा साना एवं मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थायित्व, डिजिटल बैंकिङ सेवाको प्रवर्द्धन र ग्राहक सेवाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।
नेपालको बैंकिङ क्षेत्रलाई थप प्रतिस्पर्धी, प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन रेग्मीको नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
यस अवसरमा सामाजिकसञ्चार डटकम परिवार नवनिर्वाचित अध्यक्ष सुरेन्द्रराज रेग्मीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ। उहाँको नेतृत्वमा नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रले थप प्रगति र नयाँ उचाइ हासिल गरोस् भन्ने कामना गर्दछौँ।