काठमाडौँ, ३ फागुन
आज सामाजिक सञ्चार अनलाइन पत्रिका स्थापना भएको अवसरमा छौँटौँ वर्षमा प्रवेश गरेको ऐतिहासिक र गौरवपूर्ण दिन हो। सत्य, तथ्य र विश्वसनीय सूचनाको पक्षमा अडिग रहँदै सुरु गरिएको हाम्रो यात्राले आज निरन्तरता, विश्वास र उत्तरदायित्वको महत्वपूर्ण मोड पार गरेको छ। यस अवधिमा हामीले समाजका हरेक वर्ग, क्षेत्र र आवाजलाई समेट्ने प्रयास गर्दै पत्रकारिताको धर्मलाई केन्द्रमा राखेर काम गर्दै आएका छौँ।
सामाजिक सञ्चार अनलाइन पत्रिका केवल समाचारको माध्यम मात्र नभई समाज परिवर्तनको साझा मञ्चका रूपमा स्थापित हुँदै आएको छ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा विकाससम्बन्धी विषयवस्तुमा निष्पक्ष र सन्तुलित समाचार तथा विचार प्रस्तुत गर्नु हाम्रो मूल उद्देश्य रहँदै आएको छ। चुनौतीपूर्ण परिस्थितिमा पनि सत्यबाट नडगमगाई अगाडि बढ्न सक्नु हाम्रो पाठक, दर्शक र स्रोताको निरन्तर साथ र विश्वासकै परिणाम हो।
यस अवसरमा हामी सम्पूर्ण दर्शक, स्रोता र पाठकप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईंहरूको प्रतिक्रिया, सुझावले हामीलाई अझ जिम्मेवार, परिपक्व र प्रभावकारी बन्न प्रेरित गरेको छ। साथै, सामाजिक सञ्चार अनलाइनलाई निरन्तर साथ दिनुहुने विज्ञापनदाता, सहयोगी संस्था तथा शुभेच्छुकहरूप्रति पनि विशेष कृतज्ञता प्रकट गर्दछौँ।
आगामी दिनमा पनि सामाजिक सञ्चार अनलाइन पत्रिका सत्य, निष्पक्षता र व्यावसायिक मूल्य–मान्यतालाई अझ सुदृढ गर्दै डिजिटल पत्रकारितामा नयाँ आयाम थप्ने प्रतिबद्धता व्यक्त गर्दछ। समाजका आवाजहरूलाई अझ प्रभावकारी ढङ्गले उजागर गर्दै जिम्मेवार र भरोसायोग्य सञ्चार माध्यमका रूपमा अघि बढिरहनेछौँ।
छौँटौँ वर्षमा प्रवेशको यस सुखद अवसरमा सबैको निरन्तर साथ, विश्वास र सहयोगको अपेक्षा गर्दै पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
अनलाइन माध्यमको सहज पहुँचसँगै पत्रकारिता क्षेत्रमा नयाँ चुनौतीहरू पनि थपिएका छन्। छिटो र छरितोको नाममा विश्वसनीयता कमजोर नहोस् भन्नेमा हामी दृढ र प्रतिबद्ध छौँ। आगामी दिनमा पनि उत्तरदायी, भरपर्दो र विश्वसनीय समाचार प्रकाशनमार्फत समाज परिवर्तन र राष्ट्रिय हितका कार्यमा योगदान पुर्याउने हाम्रो प्रतिबद्धता दोहोर्याउँदै यो पुनः स्मरण गराउन चाहन्छौँ।