काठमाडौं, २ माघ
आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ।
विसं १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो। यस दिवसको मुख्य उद्देश्य भूकम्पसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र पूर्वतयारीलाई प्रभावकारी बनाउनु हो।
नेपालमा विगतका विनाशकारी भूकम्पबाट प्राप्त अनुभवका आधारमा सुरक्षित आवास निर्माण, भूकम्पीय जोखिम न्यूनीकरण तथा समुदायस्तरमा सचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।
आजको अवसरमा भूकम्पबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतना फैलाउने लक्ष्यसहित सरकार, सरोकारवाला निकाय तथा विभिन्न संघ–संस्थाले विविध कार्यक्रम आयोजना गर्दै आएका छन्।
देशभर गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक, अडियो–भिडियो कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्। भूकम्पपछिको सम्भावित अवस्थाको पूर्वआँकलन गर्दै प्रभावकारी तथा दू्रत खोज तथा उद्धार, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्थापन र तत्काल राहत सामग्रीको तयारी अहिलेको आवश्यकता रहेको विज्ञहरुले बताउँदै आएका छन्।
विसं १९९० को भूकम्पमा आठ हजार ८१९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय, पाटी–पौवा तथा सार्वजनिक भवनसमेत गरी दुई लाख सात हजार दुई सय ४८ संरचना ध्वस्त भएका थिए।
त्यस्तै, विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा आठ हजार ६७० जनाको मृत्यु भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो।