तुलसीपुर, दाङ
तुलसीपुर उपमहानगरपालिकाले प्रदान गर्ने सेवा, सुविधा तथा विकास निर्माणको प्रभावकारिताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजीकरणमा उपमहानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१र०८२ को वार्षिक तथा चालु आवको प्रथम त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
झण्डै तीन घण्टासम्म चलेको दोहोरो प्रश्नोत्तरका क्रममा उठेका जिज्ञासा र सुझावका आधारमा उपमहानगरपालिकाले छ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रतिबद्धताअनुसार उपमहानगरभित्रका सडकको स्तरोन्नति र गुणस्तर सुधार, कृषि क्षेत्र तथा सडक खण्डीकरण समस्याको समाधानका लागि भू–अध्ययन, धुलाम्मे तथा निर्माणाधीन सडकलाई प्राथमिकताका साथ सुधार, वडा नं। ३ र ९ जोड्ने भट्टेदेखि शिवपुरसम्मको सडक फराकिलो गर्न डिभिजन वन कार्यालयसँग समन्वय, तुलसीपुर मेट्रो अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्ने पहल तथा कृषि पकेट क्षेत्रको अध्ययन गरी आधुनिक कृषिमा जोड दिने निर्णय गरिएको छ। साथै सरसफाइ र स्वच्छ उपमहानगर निर्माणमा विशेष ध्यान दिने प्रतिबद्धता पनि गरिएको छ।
सार्वजनिक सुनुवाइमा प्रमुख जवाफदेही वक्ताका रूपमा नगरप्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पाध्रे, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले उठेका सवालको जवाफ दिनुभएको थियो। सुनुवाइको सहजीकरण बास नेपालका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा उद्देश्यबारे सुशासन समिति अध्यक्ष एवं वडा नं। ८ का वडा अध्यक्ष धर्मराज वलीले प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सुरुमा आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रगति प्रशासकीय अधिकृत, प्रशासन तथा जनशक्ति विकास शाखाका लेखनाथ आचार्यले प्रस्तुत गर्नुभएको थियो। यस्तै, चालु आर्थिक वर्ष २०८२र०८३ को प्रथम त्रैमासिक प्रगति योजना, बजेट अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमा खड्काले प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनुवाइअघि गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन अभिमतको नतिजा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सार्वजनिक गर्नुभएको थियो।
घुम्ती सार्वजनिक सुनुवाइको अवधारणाअनुसार आयोजना गरिएको यो कार्यक्रम वडा नं। १, २, ३, ८ र ९ लाई समेट्दै वडा नं. ८ मा सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख, विभिन्न कार्यालयका प्रतिनिधि, टोल विकास संस्था, बजार व्यवस्थापन समिति तथा सर्वसाधारण गरी दुई सयभन्दा बढीको सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइमा उठेका सवाल र गरिएका प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गरी गुनासो नआउने गरी काम गर्न नगरप्रमुख टिकाराम खड्काले सबै वडा अध्यक्षलाई निर्देशन दिनुभएको छ। उक्त सार्वजनिक सुनुवाइ पुस १३ गते सम्पन्न भएको हो।