काठमाडौँ, ११ पुस
राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले सम्पन्न ज्येष्ठ नागरिकहरू समाजका लागि प्रेरणाका स्रोत र विकासका मार्गदर्शक भएको बताउनुभएको छ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुस्वास्थ्य, दीर्घायु र मर्यादित जीवनयापनको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले माया, ममता र करुणाका प्रतीक रहेका ज्येष्ठ नागरिकप्रति आदर, सम्मान र उचित संरक्षण अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।
ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न यस दिवसले सबैमा सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको कामना गर्नुभएको छ।
वि।सं। २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको दिनको स्मरणमा सरकारको निर्णयअनुसार सोही मितिलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो।
यस वर्ष पनि ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको राष्ट्रपति पौडेलले स्मरण गर्नुभयो।
सन्देशमा उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै घर, परिवार, टोल, समाज तथा राज्यबाट उचित सम्मान र संरक्षण प्रदान गर्न सके मात्र यो दिवस सार्थक हुन सक्छ।”
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरणका लागि अनुकूल वातावरण निर्माण गर्न परिवार, समाज, सङ्घसंस्था तथा संघीय, प्रदेश र स्थानीय तहका सरकारबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। साथै, ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र सहज जीवनयापन सुनिश्चित गर्न सामूहिक प्रयास गर्न सबैमा आग्रह गर्नुभएको छ।
राष्ट्रपति पौडेलले सरकारले व्यवस्था गरेका सामाजिक सुरक्षा तथा संरक्षणसम्बन्धी सेवा सुविधालाई अझ प्रभावकारी बनाउँदै दक्षतापूर्वक कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभएको छ।