काठमाडौँ,४ पुस
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित दुईदिने प्रशिक्षण कार्यक्रम बिहिबार सिन्धुपाल्चोकस्थित सुकुटे रिभरफन बिच रिसोर्टमा सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रममा वरिष्ठ पत्रकार डा. नवराज लम्साल र राजेन्द्र बानियाँ प्रमुख प्रशिक्षकका रूपमा सहभागी भई प्रशिक्षार्थीलाई प्रत्यक्ष प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा वरिष्ठ व्यक्तित्व हरुको साथमा सहभागी भएर अनुभव सँगाल्ने अवसर समेत प्राप्त भएको प्रशिक्षार्थीहरूको भनाई छ।
संस्थाको संस्थापक अध्यक्ष गोविन्द गिरीले प्रशिक्षण सञ्चालनमा महत्वपूर्ण योगदान दिनु भएको थियो भने उपाध्यक्ष हरि दुलालको प्रयासले कार्यक्रमलाई सफलता दिलाएको थियो। साथै, अध्यक्ष चन्द्रमणि गौतमको समर्पण र नेतृत्वमा प्रशिक्षार्थीहरूले घन्टौँ धैर्यताका साथ पत्रकारिताको ज्ञान प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको थियो।
संस्थाका प्रवक्तादेखि, महिला विभाग प्रमुख, उपत्यका समिति र सबै प्रदेश समितिका टोलीहरूले सक्रिय सहयोग प्रदान गरेपछि कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ।
कार्यक्रमले नेपाली सञ्चारकर्मीहरूका लागि ज्ञान र सीप अभिवृद्धिको महत्वपूर्ण अवसर प्रदान गरेको छ।
कार्यक्रमको मुख्य प्रायोजक नेपाटेक मार्ट रहेको छ भने गोकर्णेश्वर नगरपालिका–५ र ६, जोरपाटी (काठमाडौं),इन्द्रेणी सांस्कृतिक विकास केन्द्र र सोफा हब सहयोगी संस्थाका रूपमा आबद्ध रहेका थिए।
कार्यक्रम सञ्चालन संस्थाका सचिव कमल सरगमले गर्नु भएको थियो।