काठमाडौं, २२ मंसिर
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सातै प्रदेशमा शाखा विस्तार गर्ने योजनाअन्तर्गत कर्णाली प्रदेशमा पहिलो शाखा स्थापना गरेको छ।
सोमबार संस्थाका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज कमल सरगम स्वयं कर्णाली पुगेर १७ सदस्यीय कार्यसमिति घोषणा गर्दै शाखा विस्तारको सुरुवात गर्नुुुभएको हो।
नवगठित समितिको अध्यक्षमा कर्णाली प्रदेश संयोजक कुलेन्द्र शाहीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रममा इन्द्रेणीका सञ्चालक एवं संस्थाका सल्लाहकार कृष्ण कडेल प्रमुख अतिथि रहनुभएको थियो।
१७ सदस्यीय समितिमा अध्यक्ष शाहीका साथै वरिष्ठ उपाध्यक्ष विक्रान्त चालिसे, उपाध्यक्ष अनिता बिक, सचिव पूर्ण सार्की, सहसचिव मनोज बोहरा, कोषाध्यक्ष टीका घिमिरे, सह–कोषाध्यक्ष महेश बस्नेत, प्रवक्ता यादव पौडेल, महिला विभाग प्रमुख रमिता खड्का, प्रचारप्रसार प्रमुख चन्द्रप्रसाद भट्टराई र प्रचारप्रसार सचिव हिमेन्द्र बिक रहनुभएको छ।
त्यसैगरी सदस्यहरूमा कमल कुमार न्यौपाने, जनक दसौदी, प्रज्वल चुनारा, प्रकाश शाही, रूपलाल बुढाथोकी तथा दीपक सापकोटा हुनुहुन्छ।
कार्यक्रमका प्रमुख अतिथि कृष्ण कँडेलले कर्णाली प्रदेश लोकसंगीत र लोकसंस्कृतिको धनी क्षेत्र भएको भन्दै नयाँ नेतृत्वले स्थानीय प्रतिभा र दूरदराजका समाचारलाई राष्ट्रिय स्तरमा ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवा सञ्चारकर्मीको सक्रियता कर्णालीको पहिचान विस्तारमा महत्वपूर्ण हुने बताउनुभयो।
सचिव तथा प्रदेश इन्चार्ज कमल सरगमले नवगठित कमिटीलाई बधाई दिँदै संस्थाको नीति–मर्यादाअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो।
उहाँले कर्णाली प्रदेश विकास र अवसरका हिसाबले पछाडि परेकाले यहाँको पहिचान उजागर गर्न सञ्चारकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।
अध्यक्षमा चयन हुनुभएका कुलेन्द्र शाहीले संस्थालाई देशकै उत्कृष्ट बनाउने उद्देश्यसहित निरन्तर सेवा र सकारात्मक सन्देशका साथ गतिविधि अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।