काठमाडौँ, १९ मङ्सिर
नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा रहेका पुराना सातवटा ग्रिड सब–स्टेसनलाई आधुनिक प्रविधिसहित स्वचालित प्रणालीमा रूपान्तरण गरेको छ। विद्युत् प्रणालीलाई स्मार्ट, स्वचालित र अत्याधुनिक बनाउन अघि बढाइएको योजनाअनुसार १३ वटा सब–स्टेसन स्वचालन प्रक्रियामा समावेश गरिएको हो।
हाल पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर सब–स्टेसन पूर्णरूपमा स्वचालित भई सञ्चालनमा आइसकेका छन्। यी सब–स्टेसन अब मिनभवनस्थित प्राधिकरणको नयाँ नियन्त्रण कक्षबाट दूरस्थ रूपमा सञ्चालित हुन्छन्। स्वचालित सञ्चालनका लागि आवश्यक आधुनिक कन्ट्रोल–रुम निर्माण गरी प्रयोगमा ल्याइएको प्राधिकरणले जनाएको छ।
स्युचाटार, टेकु, मातातीर्थ, चावहिल, के ३ र लामासाँघु गरी बाँकी ६वटा सब स्टेसन दुई महिनाभित्र स्वाचालित प्रणालीमा आबद्ध गरिने छ। स्वचालित सब स्टेसन स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरवाइजरी नियन्त्रण तथा डाटा प्राप्तिमार्फत आबद्ध हुने हुँदा यसबाट एकीकृत प्रणाली सञ्चालन थप मजबुत र स्थिर हुने छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सब स्टेसन पूर्णरूपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत् अवरोध न्यून हुने, वास्तविक समयको तथ्याङ्क प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताउनुभयो। उहाँले स्वचालित बनेपछि क्रमिक रूपमा मानवरहित अवस्थामा अर्थात् भौतिक रूपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नु नपर्ने बताउनुभयो।
एशियाली विकास बैँक (एडिबी)को विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजना अन्तर्गत प्राप्त भएको सहुलितपूर्ण ऋणमा सब स्टेसनलाई स्वचालित बनाइएको छ। समग्र आयोजनाको लागत करिब ६१ करोड रुपियाँ रहेको छ।
देशभरका बाँकी ६४ वटा ग्रिड सब–स्टेसनलाई पनि एडिबीको सहुलियतपूर्ण ऋणमा स्वचालित बनाउने कार्य अघि बढिरहेको प्राधिकरणले जनाएको छ। यो प्रक्रिया डेढ वर्षभित्र सम्पन्न गरी सम्पूर्ण राष्ट्रिय ग्रिडलाई स्वचालित बनाउने लक्ष्य राखिएको छ।