सप्तरी, १९ मङ्सिर
सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जनकपुरबाट काकडभिट्टातर्फ गइरहेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना ३ ख ४४०२ नम्बरको ट्रक ठोक्किँदा बसमा सवार करिब ५० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा भारत मधुवनी सुजातपुर–११ का ३२ वर्षीय मो. सहिद, १२ वर्षीय अलताफ ईनताफ, रागोरपुर बख्री–४ का २२ वर्षीय अनिसकुमार शर्मा, सितामडी भिठामोड–४ का २४ वर्षीय सुभान्सुकुमार झा र सिरखण्डी भिठा–६ की ७३ वर्षीया शान्ती देवी घाइते छन्।
यस्तै, महोत्तरी जलेश्वर–४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा–४ का ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया–६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती–१ की टिका देवी दुलाल, सर्लाही पर्सा–६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा–४ की २७ वर्षीया कृतिका कोइराला घाइते भएका छन्।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो बसमा ५५ जना यात्रु सवार रहेको बुझिएको छ।