काठमाडौं,१५ मङ्सिर
नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको छ।
नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)को आयोजना तथा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड र एसियाली उत्पादकत्व सङ्गठनको सहकार्यमा आजेदेखि सुरु भएको ‘वेलनेस टुरिजम’ प्रवर्द्धनसम्बन्धी कार्यक्रमका वक्ताले नेपालको पर्यटन प्रवर्द्धनमा वेलनेस टुरिजमको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले विश्वव्यापी रुपमा ‘वेलनेस टुरिजम’को विकास तीव्र गतिमा हुँदै गएको र यसको सम्भावना नेपालमा झन् धेरै रहेको बताउनुभयो।
नेपालको पर्यटन क्षेत्रको विकासमा वेलनेस टुरिजमले ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ। “सगरमाथा र बुद्ध जन्मेको नेपालमा योग, ध्यान मेडिटेसनमार्फत पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना रहेका छन्,” उहाँले भन्नुभयो। वेलनेस टुरिजमको विकाससँगै बेरोजगार रहेका युवा र महिलाले सजिलै रोजगार पाउने उहाँको भनाइ छ।
नेपाल एुसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपालका ट्राभल्स एन्ड टुर कम्पनीले वेलनेस टुरिजमको प्याकेज बनाएर विश्वमाझ प्रवर्द्धन गर्न लाग्नुपर्ने बताउनुभयो। उहाँले विश्वभर द्रुत गतिमा प्राकृतिक चिकित्सा पर्यटनको विकास हुँदै गएको बताउनुभयो।
उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मुलुक भएकाले यहाँ वेलनेस टुरिजमले सिङ्गो एसियालाई नै नेतृत्व गर्नसक्ने बताउनुभयो। तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा वेलनेस पर्यटनको सम्भावना, यसको प्रयोग, बजारीकरण लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
कार्यक्रममा नेपालभित्रका ३४ ट्राभल, होटल, टुर, वेलनेस सेवा प्रदायक संस्थाले सहभागिता जनाएको नाट्टाको महासचिव युविका भण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा वेलनेस पर्यटनको सम्भावना र विकासका लागि अष्ट्रेलियाका वेलनेस विज्ञ क्याथरिन ड्रोगा र शेरोन कोल्काले प्रशिक्षण दिनुहुने जनाइएको छ।
रासस