काठमाडौं, १२ मङ्सिर
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति जनाएको छ।
एसोसिएशनले आज विज्ञप्ति निकालेर अस्ति मङ्सिर १० देखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्ने गरी स्वास्थ्य शुल्क बढाएकोमा आपत्ति जनाएको हो ।
सरकारले यूएईको हकमा ४ हजार ५०० बाट दोब्बर बढाएर ९ हजार ५०० र अन्य देशको हकमा ६ हजार ५०० बाट ९ हजार ५०० रुपैयाँ पुर्याएको छ।
शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एसोसिएशनका अध्यक्ष दीपक थापाले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ।
यस्तै खाडी तथा मलेशिया जाने कामदारका लागि १० हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै ९ हजार ५०० रुपैयाँ लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले बताउनुभयो।
रोजगारीका लागि विशेषगरी मलेशिया र खाडीका देश जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने गरेको एसोसिएशनले जनाएको छ। ती देशमा दैनिक १ हजार ५०० युवा रोजगारीका लागि जाने गरेका र सरकारको निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एसोसिएशनको बुझाइ छ।
गन्तव्य देशले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो देशको मापदण्ड अनुसार स्वास्थ्य परीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको एसोसिएशनले जनाएको छ।
एसोसिएशनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुने गरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेको छ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामका लागि विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गर्नुभएको थियो। स्वास्थ्य व्यवसायीहरूले अस्तिदेखि नै बढेको शुल्कमा स्वास्थ्य परीक्षण थालेका छन्।रासस