काठमाडौं, ४ मंसिर
थाइल्याण्डस्थित नेपाली दूतावासले म्यानमारका अवैध अनलाइन स्क्याम केन्द्रमा फसाइएका ३७ नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काएको छ। दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
विज्ञप्तिअनुसार, आकर्षक रोजगारीको प्रलोभनमा म्यानमार पुर्याइएका ती नेपालीहरूलाई अवैध रूपमा सञ्चालन भएका अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगी जस्ता कार्यमा लगाइएको थियो। १९ अक्टोबर २०२५ मा म्यानमार सुरक्षाकर्मीले स्क्याम केन्द्रमा छापा मारेपछि उनीहरू भागेर थाइल्याण्ड प्रवेश गरेका थिए।
थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वयमा उद्धार गरिएका ३७ जना नेपालीलाई नेपाल एयरलाइन्सको उडान RA४०२ मार्फत २०८२ मंसिर ३ गते नेपाल ल्याइएको दूतावासले जनाएको छ।
यससँगै, म्यानमारको म्यावडीमा रहेका २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ नेपालीलाई समेत चाँडै उद्धार गरी स्वदेश फर्काउने प्रक्रियामा सम्बन्धित मुलुकका निकायहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।
दूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य श्रम स्वीकृति लिन आग्रह गर्दै प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायत मुलुकमा ‘भ्रमण’को नाममा अवैध रूपमा रोजगारमा नजाने चेतावनी दिएको छ। साथै, दूतावासले आमसञ्चार माध्यम र नागरिक समाजलाई यो सन्देश व्यापक रूपमा फैलाएर सहयोग गर्न अनुरोध गरेको छ।