काठमाडौँ, २८ कात्तिक
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनले नेपालमा एआई (कृत्रिम बुद्धिमत्ता) विकासका लागि ऊर्जा, ज्ञान र प्रेरणा प्राप्त भएको बताउनुभएको छ।
नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेपछि मन्त्री खरेल दक्षिण कोरिया पुगेर सिओल एआई फाउन्डेशनद्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमणमा सहभागी हुनुभएको थियो। उहाँले कोरियाको एआई तथा सूचना प्रविधिको संरचना र कार्यशैली नेपालका लागि उपयोगी र सान्दर्भिक हुने उल्लेख गर्नुभयो।
मन्त्री खरेलले भ्रमणपछि भन्नुभयो, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरको अवलोकनले नेपालमा एआई केन्द्रमा काम गर्नका लागि थप ज्ञान, सिकाइ र प्रेरणा मिलेको छ। यसले भर्खरै स्थापना भएको एआई केन्द्रलाई थप टेवा पुग्नेछ।”
उहाँका अनुसार अवलोकनका क्रममा एआई सिटी, एआई सेन्टर र एआईमार्फत भइरहेका विविध कामको अध्ययन गरिएको थियो। साथै कोरियाली विज्ञ, पदाधिकारी तथा प्राविधिकसँग एआई प्रविधिको अवसर, सम्भावना, उपयोगिता र भविष्यबारे विस्तृत परामर्शसमेत गरिएको थियो।
मन्त्री खरेल कात्तिक २५ गतेदेखि सिओलमा आयोजित ११औँ ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोरिया पुग्नुभएको हो। उक्त फोरम कोरियाको विज्ञान तथा आइसीटी (MSIT) मन्त्रालय र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
मन्त्री खरेलले डिजिटल नेपाल र डिजिटल रूपान्तरणका दृष्टिले यो फोरम फलदायी र उपलब्धिपूर्ण भएको पनि बताउनुभयो।