काठमाडौँ, १७ कात्तिक
देशभरका ७५ जिल्लामध्ये ७३ जिल्लामा सात हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ।
इडिसिडीका अनुसार हालसम्म सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ भने छ जनाको मृत्यु भएको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा मात्रै अहिलेसम्म डेङ्गु देखिएको छैन।
प्रदेशगत विवरणअनुसार गण्डकीमा सबैभन्दा बढी एक हजार ७७५ जना संक्रमित छन्। बागमतीमा एक हजार ७६३, लुम्बिनीमा एक हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेश प्रदेशमा १४७ जनामा डेङ्गु पुष्टि भएको छ।
डेङ्गु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जसले सफा पानी जम्मा भएको भाँडो वा ट्याङ्कीमा प्रजनन गर्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने, आँखाको गेडी दुख्ने, शरीरमा राता दाग देखिने लगायतका लक्षण डेङ्गुका संकेत हुन्।
डा. पुनले डेङ्गुका लक्षण देखिएमा चिकित्सकको सल्लाह बिना औषधि नखान र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार डेङ्गुको जोखिम आगामी कात्तिक महिनासम्म रहने भएकाले सर्वसाधारणलाई थप सतर्क रहन सुझाव दिइएको छ।