काठमाडौं, १६ कात्तिक
पाँच दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ। स्थानीयको अवरोध हटेसँगै सडकमै रोकिएका फोहोर बोकेका गाडी बञ्चरेडाँडा ल्याण्डफिल साइटतर्फ गएका छन् भन्ने जानकारी काठमाडौं महानगरपालिकाले दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो।
मन्त्री घिसिङ आइतबार बिहान शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली लिएर बञ्चरेडाँडा पुगेका थिए। टोलीले स्थलगत निरीक्षणका क्रममा धादिङको धुनिबेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, प्रभावित वडाध्यक्ष तथा स्थानीयवासीसँग अन्तर्क्रिया गरेको थियो।
स्थानीयवासीसँगको छलफलमा मन्त्री घिसिङले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै १५ दिनको समय माग गर्नुभयो। उहाँले भन्नुभयो, “म आश्वासन दिन आएको होइन, कार्यान्वयन गर्न आएको हुँ। अवरोध हटाएर सकारात्मक सन्देश दिनुहोस्। वार्ता र संवादमार्फत सौहार्दपूर्ण समाधान खोजिन्छ।”
मन्त्री घिसिङले फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना अघि बढाइने उल्लेख गर्दै तत्काल गर्न सकिने कार्यहरू सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो।