काडमाडौं
काडमाडौं उपत्यकामा फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट अनुगमन गर्नुभएको छ। मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित निकाय तथा स्थानीय प्रतिनिधिसँग छलफलका लागि साइटको अनुगमन गर्नु भएको हो।
काडमाडौं महानगरपालिका र अन्य पालिकाबाट दैनिक रूपमा एक हजार दुई सय टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ। सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बञ्चरेडाँडालाई वैकल्पिक फोहोर व्यवस्थापन स्थलको रूपमा विकास गरिएको थियो।
अनुगमनका क्रममा मन्त्री घिसिङले साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया र वातावरणीय प्रभावबारे जानकारी लिनुभयो। फोहोर विसर्जनले बारम्बार वातावरणीय प्रदूषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम जस्ता समस्या उत्पन्न गर्ने गरेको छ।
स्थानीय बासिन्दासँग विगतमा सरकारले गरेको १८ बुँदे सहमति कार्यान्वयन नभएको गुनासो समेत उठेको छ। हाल स्थानीय बासिन्दाले फोहोर ल्याण्डफिलमा लैजान रोक लगाएका छन्। मन्त्री घिसिङले अनुगमनका क्रममा फोहोर छुट्याउने प्रक्रिया कडाइका साथ लागू गर्न र स्थानीयसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
२०७९ भदौमा स्थानीयहरूले सडक अवरोध गरेपछि फोहोरका गाडीहरू नै बाटोमै रोकिएका थिए। जसले उपत्यकामा फोहोर थुप्रिने संकट निम्त्याएको थियो।
अहिले पनि पुरानै स्थिति दोहारिएको छ। स्थानीयहरूले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटकपटक विरोध प्रदर्शन गरेका छन्।
स्थानीयहरूले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन्।