काठमाडौं, १६ कार्तिक
सिस्नेखोला सुरुङमार्गको सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय बोलपत्र ९टेन्डर० आह्वान गरिएको छ। नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार दक्ष र अनुभवी सेवा प्रदायक कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय प्रतिष्पर्धात्मक प्रक्रिया सुरु गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ (डिसेम्बर १७, २०२५०) तोकिएको छ।
हाल सुरुङमार्गबाट सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था पुगे पनि आवश्यक दक्ष जनशक्ति र सुरक्षा तयारी अभावले सञ्चालन रोकिएको छ। मुख्य सुरुङमार्ग २.७ किलोमिटर र आपत्कालीन सुरुङ २.६ किलोमिटर लामो रहेको छ। सरकारले यसमार्ग प्रयोग गर्ने सवारीका लागि टोल शुल्क पनि तोकिसकेको छ।
सडक विभागको हालको सीमित जनशक्ति र अनुभवका कारण सुरुङको दीर्घकालीन सञ्चालन र मर्मत कठिन हुने भएकाले विशेष तालिमप्राप्त दक्ष जनशक्ति सहितको अन्तर्राष्ट्रिय कम्पनीमार्फत सञ्चालन गरिने जनाइएको छ। छनोट गरिने सेवा प्रदायक कम्पनीले ५ वर्षसम्म सुरुङको सञ्चालन र मर्मतको जिम्मेवारी लिनेछ।
यस अवधिमा विदेशी विज्ञहरूको सहकार्यमा नेपाली प्राविधिक र व्यवस्थापकलाई आवश्यक प्रविधि हस्तान्तरण गरिनेछ, जसले भविष्यमा अन्य सुरुङ तथा फास्ट ट्र्याकजस्ता परियोजना स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज बनाउने सरकारको अपेक्षा छ।
सुरुङ २४ घण्टा सञ्चालनयोग्य हुने भएकाले आपत्कालीन स्थिति ९दुर्घटना, आगलागी वा प्रणाली बिग्रने अवस्था० मा तुरुन्त सेवा दिन सक्ने व्यवस्था गरिनेछ। यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ, जसमा सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन्।
ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।