तनहुँ, ११ कात्तिक
तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आज दिउँसो करिब १२:२० बजे चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०९३७ नम्बरको इभी माइक्रोबस अनियन्त्रित भई सडक छेउको पर्खालमा ठोक्किँदा र त्यहीँ रोकी राखिएको नेपाल विद्युत प्राधिकरणको बा.१ ञ १२८७ नम्बरको सवारीसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी भरतपुर–१६ की ५५ वर्षीया बुधमाया तामाङको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा माइक्रोबस चालक लमजुङ बेंसीसहर–८ का ४२ वर्षीय इश्वरकुमार श्रेष्ठसहित चितवन भरतपुर–१६ की ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, होम कुमारी तामाङ, गंगाबहादुर तामाङ, डोलराज तामाङ, गंगा तामाङ, मैती मया तामाङ, इन्द्रकुमारी तामाङ, गममाया तामाङ, मंगली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।