झापा, ११ कात्तिक
झापाको शिवसताक्षी नगरपालिका–१०, माईधार चोक नजिक आज बिहान एक यात्रुबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
रामेछाप मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको प्र१–०१–००१क ४२०९ नम्बरको रात्रिबस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते १९ जनालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ। बाँकी छ जना यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ गएका छन्।
दुर्घटनाग्रस्त बसमा २५ जना यात्रु सवार थिए। बस सडक किनारमै पल्टिए पनि राजमार्गमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये बस चालक मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल, झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश र २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की तथा उनका नौ वर्षीय छोरा एलोन रहेका छन्।
त्यस्तै, रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, खाँडादेवी–३ की ६५ वर्षीया मिटु खत्री, दोलखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ र तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल पनि घाइते भएका छन्।
त्यसैगरी, कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका नौ वर्षीय छोरा रिदम, सोही स्थानका २३ वर्षीय पूर्णबहादुर नेपाली र १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ र सबैको उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार बस अनियन्त्रित भई पल्टिएको हो भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।