काठमाडौं, ३ कात्तिक
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरूले भरिएको समृद्ध मुलुक भएको बताउनुभएको छ। तिहार तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस विविधताभित्र निहित सद्भाव र सहिष्णुताले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार यमपञ्चकका दिनहरूले पारिवारिक, सामाजिक र मानवीय सम्बन्धमा सौहार्द र आत्मीयता कायम गर्न, दिदीबहिनी–दाजुभाइ तथा आफन्तबीच सुमधुर सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्।
खड्काले बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकालको प्रतीक भन्दै नेपाल संवत् त्यही ऐतिहासिक जागरणकालको जीवन्त धरोहर रहेको बताउनुभयो।
उहाँले भन्नुभएको छ, ‘‘बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिन्छ। नेपाल सम्वत् त्यही जागरणकालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो। यसको प्रारम्भ समाजसेवी शंखधर साख्वाद्वारा गरिब र पीडितहरूको ऋणमोचन मार्फत गरिएको महान परोपकारी कार्यको सम्झनामा भएको हो।’’
उहाँले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकको रुपमा मनाइने तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वतको नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वतको नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। साथै, उहाँले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभयो।