काठमाडौं, २९ असोज
प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
बुधबार जारी वक्तव्यमा प्रधानमन्त्री कार्कीले जोशीको आत्माको चिरशान्तिको कामना गर्दै भन्नुभयो, “विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।”
दुई वर्षदेखि बन्धक मुक्त हुने आशा र सामूहिक प्रार्थनाबीच आएको उहाँको निधनको समाचारले आफू स्तब्ध भएको बताउँदै उहाँले भन्नुभयो, “यो हृदयविदारक घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।”
प्रधानमन्त्री कार्कीले विपिन जोशी केवल एक विद्यार्थी मात्र नभई विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्नुभयो। “उहाँ सकुशल फर्किएर देशको विकासमा योगदान दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा थियो,” उहाँले भन्नुभयो।
शान्तिप्रेमी नेपाली युवाको रूपमा विपिन जोशी अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपरेको पीडादायी घटना हो। “उहाँको सुरक्षित रिहाइका लागि सरकार र सम्पूर्ण नेपाली जनताले एकचित्तले कामना गरेका थियौँ। उहाँको निधनले दुई वर्षदेखि बोकेर हिँडेको आशा र सपनालाई चकनाचूर बनाएको छ,” प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो।
प्रधानमन्त्रीले जोशीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा देखाउनुभएको साहस, बहादुरी र त्यागका कारण कैयौं साथीहरूको ज्यान बचाउन सफल भएको जनाउँदै भन्नुभएको छ, “उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।”