काठमाडौं, ८ असोज
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चालकहरूलाई मदिरा सेवनपश्चात् कुनै हालतमा सवारीसाधन नचलाउन आग्रह गर्नुभएको छ।
मन्त्री घिसिङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै चालकलाई सवारी गति नियन्त्रणमा राख्न, लामो यात्रामा निस्कनु अघि पर्याप्त विश्राम लिन र सडक सुरक्षामा विशेष ध्यान दिन सुझाव दिनुभएको हो।
दशैंको अवसरमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो गर्न सकिने तर हतार नगरी, सचेत रहँदै नियम पालना गरेर मात्र यात्रा गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ।
यस्तो छ मन्त्री घिसिङको धारणा
सम्पूर्ण चालक तथा यात्रुहरूमा बिशेष अनुरोध :
“तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो ।” त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।
चालक साथीहरूलाई अनुरोध
-गति नियन्त्रणमा राख्नुहोस्,
-मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,
-विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्,
यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्याउनुहोस् ।
यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध:
-क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,
-चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,
-यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।
-यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।
सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो ।
यहाँहरु सम्पूर्णलाई दशैको हार्दिक शुभकामना