र्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ स्थित खाङदाङ माल बस्ने जयसिंह धामी महाकाली नदीमाथिको तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नता पुष्टि भएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सो घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरेको हो ।
मंगलबार साँझ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’
समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । सो घटना छानबिन गर्न बनेको सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले खाँणलाई प्रतिवेदन बुझाएको हो ।समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य थिए ।
गत साउन १७ गते गठित समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो ।
छानबिन नसकिएको भन्दै मन्त्रालयले ३ पटक म्याद थप गरेको थियो ।
टोलीले दार्चुला पुगेर स्थलगत रूपमा घटनाको अध्ययन गरी फर्किएको थियो । सो क्रममा टोलीले राजनीतिक दल, सरकारी अधिकारी, पत्रकार, स्थानीय, पीडित परिवार, जनप्रतिनिधिसँग छलफल गरेको थियो भने खोजबिनका सिलसिलामा बैतडी, कञ्चनपुर समेत पुगेको जनाइएको छ ।
साउन १५ गते धामी बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका लगाउँदै आएका थिए भने समितिले पनि सोही निष्कर्ष निकालेको हो ।