काठमाडौँ, २९ भदौ
जेनजी प्रदर्शनपछि उच्छृङ्खल समूहले गरेको आगजनी र तोडफोडका कारण काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएका छन्। त्यसपछि अझै पनि प्रहरी कर्मचारीहरू काममा फर्कन नसक्दा सुरक्षा व्यवस्थामा चुनौती सिर्जना भएको छ।
सुरक्षा सुदृढीकरणका लागि प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यकालाई आठवटा सेक्टरमा विभाजन गरी प्रत्येकमा छुट्टाछुट्टै प्रहरी अधिकृत (एसपी) परिचालन गरेको छ। यसै क्रममा पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौँ झिकिएको छ। यसअघि लामो समय काठमाडौँको अपरेशन प्रमुख भएर काम गर्नुभएको भट्टराई प्रदर्शन र हुलदङ्गा नियन्त्रणमा अनुभवी मानिनुहुन्छ। उहाँ वैशाखमा पाल्पा जानुभएको थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकामा खटाइएका एसपीहरूमा दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणा रहनुभएको छ। उहाँहरूलाई ध्वस्त भएका प्रहरी युनिटको मर्मतसमेत समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
क्षेत्रगत जिम्मेवारीअनुसार एसपी दिपक श्रेष्ठलाई कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्र, कवित कटुवाललाई सातदोबाटो क्षेत्र, रामेश्वर पौडेललाई दरबारमार्ग, सोह्रखुट्टे र जनसेवा क्षेत्र तोकिएको छ। त्यस्तै, रुगम कुँवरलाई बानेश्वर र सिंहदरबार, डिबी मल्ललाई बालाजु र स्वयम्भु, केशव भट्टराईलाई गौशाला र बौद्ध, तथा बालनसिंह राणालाई महाराजगञ्ज र मालिगाउँमा खटाइएको छ।