काठमाडौँ, २९ भदौ
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिका र अभिभावकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाइँदै आएको छ। यस वर्षको दिवसको नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने तय गरिएको छ।
राष्ट्रपतिले बाल दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा आवश्यक लगानी गर्न सबैलाई प्रेरित गर्ने अपेक्षा राख्नुभएको छ
सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ। बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ। बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ।”
राष्ट्रपतिले अझै पनि धेरै बालबालिका अधिकारबाट वञ्चित रहेको तथ्यप्रति चिन्ता व्यक्त गर्दै विभिन्न कारणले उनीहरूमा पर्न सक्ने नकारात्मक असरतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ। बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार वा अमानवीय व्यवहार रोक्नु सरोकारवालाहरूको साझा दायित्व भएको उहाँको भनाइ छ।
सन्देशमा गुणस्तरीय, निःशुल्क र व्यावहारिक शिक्षाको पहुँच, पोषणयुक्त खाना, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप तथा बालमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। त्यस्तै, घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सिर्जना गरेर सबै बालबालिकालाई समान अवसर दिनुपर्नेमा पनि राष्ट्रपति पौडेलले ध्यानाकर्षण गराउनुभएको छ।
बालबालिकाको संरक्षण, विकास र सहभागितामा सबै पक्षको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले यस दिवसले सम्पूर्ण सरोकारवालामा थप प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभएको छ।