काठमाडौँ,२८ भदौ
नेपालकी पहिलो महिला प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएको ऐतिहासिक क्षणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीज्यूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
थापाले नेपालको नेतृत्वमा महिलाको ऐतिहासिक उपस्थितिलाई राष्ट्रिय गौरवको विषय भन्दै प्रधानमन्त्रीको नियुक्तिलाई समावेशी लोकतन्त्र र सामाजिक समानताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभएको छ।
थापाले एक विज्ञप्ति जारी गर्दै जेन्जी पुस्ताको अभियानले नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री जन्माउन सफल भएकोमा गर्व लागेको उल्लेख गर्नुभएको छ। उहाँले नेपालको नेतृत्वमा महिलाको ऐतिहासिक उपस्थिति राष्ट्रिय गौरव भएको बताउनुभयो।
कार्कीको नेतृत्वमा संविधान संशोधनमार्फत वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै, थापाले उक्त संवेदनशील विषय समाधान भएमा विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपालीहरू मातृभूमिसँग अझ सशक्त रूपमा जोडिने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले विदेशमा रहेका लाखौँ नेपालीहरू आफ्नो जन्मभूमिप्रति गहिरो समर्पण र योगदानको भावना बोकेका छन् भन्दै नेपालको समृद्धिमा उनीहरूको भूमिकालाई संस्थागत गर्न लगानीमैत्री वातावरण, पारदर्शी नीति, सुशासन र स्थिर प्रशासनिक प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो।
“नेपालले यदि लगानीमैत्री वातावरण निर्माण गर्न सक्यो भने, प्रवासी नेपालीहरू मातृभूमिको आर्थिक समृद्धि, सामाजिक विकास तथा अन्तर्राष्ट्रिय छविको सुदृढ आधार बन्न सक्छन्,” विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताउँदै, उहाँले सम्पूर्ण नेपाली जनसमुदायलाई राष्ट्रको हितमा सहकार्य र समर्थन गर्न आह्वान गर्नुभएको छ।