काठमाडौँ, २३ भदौ
जेन–जी पुस्ताको आन्दोलन थप आक्रामक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँका प्रमुख संवेदनशील क्षेत्रहरूमा थप कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू आदेशअनुसार शितल निवास (राष्ट्रपति कार्यालय), हरित गृह (उपराष्ट्रपति कार्यालय), नारायणहिटी दरवार संग्रहालय र सिंहदरबार क्षेत्रमा सेना परिचालन गरिएको छ।
कर्फ्यू आदेशअनुसार तोकिएको क्षेत्रभित्र कसैले आवतजावत, भेला, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्। यी क्षेत्रमा कर्फ्यू आज अपरान्ह १ बजेबाट राति १० बजेसम्म लागू रहने छ।
विशेष गरी, शितल निवास क्षेत्रमा उत्तर–पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व–दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण–पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म कर्फ्यू लागू गरिएको छ।
उपराष्ट्रपति कार्यालय क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलसम्म, नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म कर्फ्यू जारी गरिएको छ।
त्यस्तै, सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तिनकुने आइल्याड)को पूर्वी कुनादेखि सिंहदरवार मूल गेटसम्म, मूलगेट अगाडिदेखि पद्मोदय माविको मोडसम्म, त्यसबाट अनामनगरतर्फ जाने उत्तर–पूर्वी मोड र हनुमानस्थान मन्दिरसम्म तथा सर्वोच्च अदालत अगाडिदेखि पुरातत्व विभागको चोकसम्म कर्फ्यू लागू गरिएको छ।