काठमाडौँ, १९ भदौ
नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज आफ्नो पदभार ग्रहण गर्दै दर्ज्यानी चिन्ह लगाउनुभएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो।
समारोहमा गृहसचिव दुवाडीले भन्नुभयो, “सरकारले क्षमता, कार्यदक्षता र जेष्ठतालगायत आधारमा खापुङलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गरी जिम्मेवारी प्रदान गरेको हो। मुलुकमा शान्ति, सुव्यवस्था, अपराध नियन्त्रण र सामाजिक न्याय कायम राख्न प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण छ।”
उहाँले थप्नुभयो, “आम नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउनु हाम्रो कर्तव्य हो। प्रहरी आम जनतासँग नजिक रहेर उनीहरूको सुखदुःखमा साथ दिने खालको हुनुपर्छ। यसरी नै प्रहरीको प्रभावकारिता मापन गरिन्छ। हामी आशावादी छौँ कि नवनियुक्त महानिरीक्षकले नेपाल प्रहरीको साख अझ मजबुत बनाउन सफल हुनुहुनेछ। सबै दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च राखेर संगठनको उद्देश्य पूरा गर्न सकिन्छ।”
समाजमा बढ्दो अपराधिक गतिविधि प्रति चिन्ता व्यक्त गर्दै सचिव दुवाडीले भन्नुभयो, “अपराधका नयाँ श्रृङ्खला बढिरहेका छन्। यी सबै गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्नु आवश्यक छ।”
नवनियुक्त महानिरीक्षक खापुङले आफ्नो प्राथमिकता संस्थागत सुधार र प्रहरीको हितमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सकेको राम्रो गर्नेछु, तर नराम्रो गर्ने छैन। प्रहरी संगठनलाई प्रविधि र स्रोत–साधनले सक्षम बनाउनु मेरो प्राथमिकता हो।”
अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता (AI), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराध र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा प्रहरीले क्षमता विस्तार गर्नु पर्नेमा जोड दिनुभयो। तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उहाँले सबै प्रहरी कर्मचारीलाई आधुनिक प्रविधि र स्रोत–साधनसँग सुसज्जित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।