काठमाडौँ, १८ भदौ
गृहमन्त्री रमेश लेखकले सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाइ गर्नुभएको छ।
बुधबार मन्त्रालयमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडीसहितका उच्च अधिकारीले थापालाई शुभकामना दिँदै बिदाइ गर्नुभएको हो।
गृहमन्त्री लेखकले कार्यकाल सफलतापूर्वक पूरा गरेका थापालाई बधाई दिँदै, सेवानिवृत्तिपछि पनि व्यावसायिक जीवनमा निरन्तर प्रगति होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो। उहाँले थापाले निष्ठा, व्यावसायिकता र इमानदारीका साथ जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै भविष्यमा पनि राष्ट्रको सेवामा योगदान जारी रहने विश्वास व्यक्त गर्नुभयो।
गृहसचिव दुवाडीले शान्ति–सुरक्षा कायम गर्नेजस्तो संवेदनशील जिम्मेवारी निर्वाह गरेर अवकाशमा जान लागेका थापाको प्रशंसा गर्दै, आगामी जीवन स्वस्थ, रचनात्मक र सक्रिय रहोस् भन्ने शुभकामना दिनुभयो।
सो अवसरमा आईजीपी थापाले नेपाल प्रहरीजस्तो गौरवशाली र नागरिकसँग नजिकको सुरक्षाअङ्गको हिस्सा भएर सेवा गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो। उहाँले कार्यकालभर संविधान र कानुनले तोकेको दायित्व पारदर्शी र निष्पक्षताका साथ पूरा गरेको उल्लेख गर्दै, नेपाल प्रहरीले समयअनुसारको आधुनिकीकरण, संस्थागत सुदृढीकरण र स्तरोन्नतिमा सहयोग पुर्याएको सरकार र गृहमन्त्रालयलाई धन्यवाद ज्ञापन गर्नुभयो।
प्रहरी प्रधान कार्यालयले पनि आजै थापाको बिदाइ कार्यक्रम आयोजना गर्दैछ। भोलिदेखि भने प्रहरी संगठनको नेतृत्व चन्द्रकुवेर खापुङले सम्हाल्नुहुनेछ।