काठमाडौँ, ७ भदौ
समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ। नेपालको उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भद्रपूर्वक स्वागतसाथ नेपाल भ्रमणमा आउनुभएको हो।
उपराष्ट्रपति सुआन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अवतरण गर्दा उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गर्नुभएको थियो। स्वागतका क्रममा नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारीहरू, सुरक्षाकर्मीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको समेत उपस्थित थियो।
नेपाल आगमनपछि उपराष्ट्रपति सुआनले नेपाली सेनाबाट प्रदान गरिएको गार्ड अफ अनरको निरीक्षण गर्नुभएको थियो।
यही दिन परराष्ट्रमन्त्री डा। राणासँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेटवार्ता समेत तय भएको छ। उहाँ भदौ ९ गतेसम्म नेपालमा रहनुहुनेछ।
नेपाल–भियतनाम सम्बन्धको सन्दर्भमा यो भ्रमणलाई विशेष ऐतिहासिक महत्वका रूपमा हेरिएको छ, किनभने यो भियतनामबाट नेपालमा भएको पहिलो उच्चस्तरीय भ्रमण हो। भ्रमणको क्रममा भदौ ८ गते उपराष्ट्रपति सुआन र उपराष्ट्रपति यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
साथै, भ्रमण अवधिमा उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
यसबर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव परेकाले यो भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ। भ्रमण सम्पन्न गरी उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।