काठमाडौँ, ७ भदौ
प्रधानमन्त्री केपी शर्मा ओलीले भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पितृ सम्मान र बुवाप्रतिको आदर व्यक्त गर्ने यो विशेष दिनको शुभकामना दिनुभएको छ।
प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै जीवित पिताहरूप्रति नमन र दिवङ्गत पितृहरूलाई श्रद्धा अर्पण गर्नुभएको छ। यसै क्रममा, उहाँले आज बिहान आफ्ना ९६ वर्षीय पितासँग आशीर्वाद लिएको जानकारीसमेत दिनुभएको छ।
“बिहानै बुवासँग आशीर्वाद लिएँ,” प्रधानमन्त्रीले लेख्नुभएको छ, “बुवा अहिले ९६ वर्षका हुनुभयो। कान अलिक कम सुन्नुहुन्छ, तर पुस्तक पढ्न अझै चस्माको आवश्यकता छैन। नजिकका ठाउँमा हिँडडुल गर्न सक्नुहुन्छ।” उहाँले बुवासँग विगतका केही प्रसङ्गहरूमा कुराकानी भएको उल्लेख गर्दै, बुवाको दीर्घायु र सुस्वास्थ्यको कामना गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले आफू चार वर्षको हुँदा आमाको निधन भएको स्मरण गर्दै लेख्नुभएको छ, “आमाको अनुहारको धमिलो सम्झना मात्रै मेरो साथमा बाँकी छ।”
कुशे औँसीको सन्दर्भमा प्रधानमन्त्रीले भनेका छन्, “बुवाको मुख हेर्ने दिन हाम्रो परम्परामा पितृ सम्मानको प्रतीक हो। तर, बुवाआमालाई केवल यो विशेष दिनमा मात्र होइन, सधैं आदर र सम्मान गर्नुपर्छ।” उहाँले थप उल्लेख गर्नुभएको छ कि टाढा रहेका छोराछोरीहरू पनि आजको दिन विशेष रूपमा बाबुसँग भेट गर्न आउने भएकाले यो दिन झनै अर्थपूर्ण बन्न गएको हो।
परम्पराअनुसार भाद्र कृष्ण औँसीका दिन छोराछोरीहरूले आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा परिकारहरू खुवाएर सम्मान प्रकट गर्ने चलन छ, जसलाई “बुवाको मुख हेर्ने” परम्परा भनिन्छ।