काठमाडौं,६ भदौ
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथाबाट ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ।
नेपाल लाइफको केन्द्रीय कार्यालय, कमलादीमा आयोजित विशेष कार्यक्रममा राउन्ड टेबल नेपालका अध्यक्ष श्री प्रवेश अग्रवालले सङ्कलन प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरू, प्रोजेक्ट केयरका प्राविधिक साझेदार सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०का प्रतिनिधि, तथा फोहोर व्यवस्थापन र वातावरणीय संरक्षणमा सक्रिय संस्था खालिसीसीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले भन्नुभयो, “नेपाल लाइफ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियानमा राउन्ड टेबल नेपाल र एसपिसिसीसँग सहकार्य गरिरहेको छ। पहिलो चरणमा ५,००० किलोग्राम फोहोर सङ्कलनमा सफलता पाएकोमा सबै सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौं। हामी सगरमाथाको सौन्दर्यता कायम राख्न र वातावरण संरक्षणमा निरन्तर योगदान दिन प्रतिबद्ध छौं।”
राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५,००० किलोग्राम फोहोर सङ्कलन गरिएको र आगामी दिनमा २५,००० किलोग्राम फोहोर व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले यस अभियानलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य तथा वातावरण क्षेत्रमा काम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अग्रवालले बताए अनुसार, आरोहीहरूको संख्याबढेसँगै सगरमाथामा फोहोर पनि तीव्र रूपमा बढिरहेको छ। अभियानअन्तर्गत कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुरिएको छ भने नकुहिने फोहोरलाई ३० किलोका झोला बनाएर काठमाडौं ल्याइएको छ। काठमाडौं ल्याइएका फोहोरलाई खालिसीसीको सहकार्यमा रिसाइकलिङ गर्ने योजना रहेको छ।
सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको छ। मानव गतिविधि र आरोहीहरूको वृद्धि भएपछि फोहोर बढ्दै गएको छ। यसैलाई दृष्टिगत गर्दै नेपाल लाइफ र राउन्ड टेबल नेपालले सगरमाथा “विश्वकै सबैभन्दा अग्लो फोहोर थलो” नबनोस् भन्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।