काठमाडौं,५ भदौ
सरकारले सबै प्रयास गरे पनि विपिन जोशीको अवस्थाबारे अझै जानकारी नआएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ।
बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले जोशीको खोजी तथा अवस्थाबारे निरन्तर प्रयास भइरहेको स्पष्ट पार्दै हालसम्म उनको अवस्थाबारे अज्ञात रहेको जनाएको हो।
उनकी आमा र बहिनी हाल इजरायल पुगेको सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको रिहाइका लागि उठाइरहेको बताएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘यी सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ, यसै क्रममा निजको आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ, निजहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पीडित परिवारका सदस्यहरूसँग भेटघाट गरी निजको रिहाइका लागि आवाज उठाउनुभएको छ भने उहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको ब्यहोरा पनि अनुरोध छ ।’
मन्त्रालयले विपिनको रिहाइको विषयलाई उच्च प्राथमिकतामा राखेर विदेशस्थित सबै राजदूतलाई सक्रिय बनाएको समेत दाबी गर्दै भनेको छ, ‘यस विषयलाई उच्च प्राथमिकतामा राखी मन्त्रालयले विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ–आफ्ना सरकार समक्ष पुर्याउन अनुरोध गर्न निर्देशन दिएकोमा सोही बमोजिम भेटघाट गरी मन्त्रालय र नेपाल सरकारको चासो सञ्चार गरी प्रतिवेदनहरू पनि प्राप्त भएका छन्, यसैगरी, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग भेटघाट गरी निज विपिन जोशीको रिहाइको सम्भावना बारे छलफल समेत गर्नुभएको छ भने इजरायल र कतारमा रहेका नेपाली राजदूतहरूले यस विषयलाई प्रमुख कार्यभारको रूपमा लिई कार्यसम्पादन गरिरहनुभएको छ ।’
त्यस्तै इजरायल र हमासबीच दोस्रो पटक भएको अल्पकालीन युद्धविरामको मन्त्रालयले यसको स्वागत गर्दै मध्यस्थकर्ता मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरूलाई विपिन जोशीलाई रिहा हुने बन्दीको सूचीमा राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सरकारमार्फत बारम्बार अनुरोध गरेको उल्लेख गरेको छ।
-
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणः १० जना नेपाली विद्यार्थीको मृत्यु, विद्यार्थी विपिन जोशी हमासको कब्जामा।
-
उच्च प्राथमिकताः परराष्ट्र मन्त्रालयले जोशीको खोजी, रिहाइ तथा स्वदेश फिर्तीलाई निरन्तर प्राथमिकतामा राख्दै आएको।
-
राष्ट्रपतिको पहलः जर्मनी भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जर्मन समकक्षी तथा नेपाल भ्रमणमा आएका कतारी समकक्षीसँग जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि आग्रह।
-
प्रधानमन्त्रीको पहलः गत मार्च-अप्रीलमा इजिप्ट र टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरी सहयोगको अनुरोध।
-
सभामुखको पहलः सभामुख देवराज घिमिरेले अरब संसदका सभामुखलाई पत्राचार गरी समर्थन र सहयोगको माग।
-
परराष्ट्रमन्त्री राणाको पहलः कतार, इजिप्ट, अमेरिका, इरान, टर्की लगायत मुलुकका समकक्षीहरूसँग टेलिफोन, पत्राचार र भेटघाटमार्फत जोशीको रिहाइका लागि अनुरोध। कतिपय मुलुकहरूलाई दोहोर्याएर समेत आग्रह।
-
निरन्तर कूटनीतिक एजेन्डाः पछिल्ला सबैस्तरका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा जोशीको विषय प्रमुख कार्यसूचीका रूपमा उठाइएको।
-
राजदूतहरूसँग भेटघाटः काठमाडौँस्थित कतार, इजिप्ट, इजरायल, अमेरिका तथा युरोपेली मुलुकका राजदूतहरूसँग भेटवार्तामा सहयोगको आग्रह।
-
अघिल्ला परराष्ट्रमन्त्रीहरूको प्रयासः यसअघि पनि दुई परराष्ट्रमन्त्रीहरूले विषयलाई प्राथमिकतामा राखी समाधानको पहल गरेका थिए।