काठमाडौँ, ३ भदौ।
सभामुख देवराज घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको ह्रासजस्ता चुनौती कुनै एक देशले मात्र समाधान गर्न नसकिने भएकाले साझा प्रयास अपरिहार्य भएको बताउनुभएको छ।
सोमबारदेखि सुरु भएको दुई दिने हिन्दूकुश हिमालय संसदीय बैठक को समापन सत्रलाई सम्बोधन गर्दै उहाँले हिन्दूकुश हिमालयलाई पृथ्वीको ‘तेस्रो ध्रुव’का रूपमा परिचित रहेको उल्लेख गर्नुभयो। यस क्षेत्रमा करिब २४ करोड मानिस बसोबास गर्ने र करिब दुई अर्ब जनसङ्ख्या यसै क्षेत्रका प्राकृतिक स्रोतमा निर्भर रहेको बताउनुभयो। उहाँले यो भूभाग पृथ्वीकै संवेदनशील क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै वैश्विक औसतभन्दा करिब दुगुना दरमा यहाँ तापक्रम बढिरहेकोले हिमताल पग्लनु, विध्वंसकारी बाढी, पानीको अभाव र सुक्खाजस्ता गम्भीर समस्या देखा परेको बताउनुभयो।
हालै भारत, पाकिस्तान, नेपाल र चीनको सीमाक्षेत्रमा आएको बाढी तथा नेपालका तराई भूभागमा परेको अनावृष्टि जलवायु संकटका ताजा उदाहरण भएको सभामुख घिमिरेले बताए। उहाँले भन्नुभयो, “हामी वैज्ञानिक वा इञ्जिनियर नभए पनि सांसदका हैसियतले जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्छौँ, इकोसिस्टम जोगाउने कानुन बनाउन सक्छौँ, प्रदूषकलाई जवाफदेही बनाउन सक्छौँ र किसान तथा समुदायको पक्षमा आवाज उठाउन सक्छौँ। यी काम हामीले गर्नैपर्छ।”
बैठकको निष्कर्षमा सहभागी सांसदहरूले साझा संकल्प घोषणा गर्नुभएको छ। संकल्पमा बैठकलाई नियमितरूपमा आयोजना गर्ने, संस्थागत संरचना निर्माणका सम्भावना खोज्ने, सांसदबीच अनुभव आदानप्रदानलाई निरन्तरता दिने र प्रभावकारी, समावेशी तथा जलवायु–सहनशील नीतिनिर्माणमा सांसदको भूमिका बढाउनेजस्ता बुँदाहरू समावेश छन्।
सभामुख घिमिरेले यो उपलब्धिलाई भावी पुस्ताका लागि सुरक्षित भविष्यतर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै सबै प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सक्रियता, प्राविधिक समिति, विषय विज्ञ, मोडरेटर, नेपाल सरकारका सम्बन्धित निकाय तथा इसिमोडको सहयोगप्रति आभार प्रकट गर्नुभयो