काठमाडौँ, २ भदौ
मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ ९सीएनआई० ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उहाँले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको विकास र आर्थिक समृद्धिलाई तीव्रताका साथ अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो।
“आर्थिक विकासको ड्राइभर निजी क्षेत्र हो, सरकारले बाटो फुकाइदिने हो”, मूख्यसचिव अर्यालले भन्नुभयो, “नीतिगत सहजीकरणमा सरकार केन्द्रित छ। पुरानो ऐनलाई समयसापेक्ष संशोधन गर्नैपर्छ। देशको समृद्धिका लागि ‘प्रोसेस ओरेन्टेड’ लाई निर्मूल गर्ने हिसाबले अघि बढ्नुपर्छ।”
उहाँले सार्वजनिक खरिद प्रक्रियाका कारण विकासे कार्यक्रमले प्रगति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो। मूख्यसचिव अर्यालले निजी क्षेत्र स्वस्थ प्रतिस्पर्धी हुनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालयका सचिवलगायतले बजेटको प्रभावकारी कार्यान्वयन, नीतिगत समस्या समाधान, पूर्वाधार विकास, ऊजा, कृषि र पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदमबारे आ–आफ्नो धारणा राख्नुभएको थियो।
सीएनआइका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेट कार्यान्वयन प्रभावकारी बनाएर आर्थिक विकासलाई तीब्रता दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षण गरी दिगो विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सेजनका महासचिव विश्वास रेग्मीले बजेट कार्यान्वयन र प्राथमिकताका विषयबारे प्रस्तुतीकरण दिनुभएको थियो। रासस