काठमाडौं,२ भाद्र
प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएर राखेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि नेपाल सरकारले हर सम्भव पहल गरिरहेको बताउनुभएको छ।
सोमाबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका विपिनको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभएको हो। उहाँले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले आफूले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति र इजिप्टका राष्ट्रपतिसँग पनि यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको बताउनुभयो।
इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H.E. Mr. Isaac Herzog र संसद अध्यक्ष H.E. Mr. Amir Ohana सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ। यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको छ। उहाँले सामाजिक सञ्जालमा लेखेमा छन्।
बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ।
इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद। बिपिनका परिवारको साथमा सरकार छ।
विपिनको रिहाइका लागि उनका आमा र बहिनी अहिले इजरायलमा छन्। त्यहाँ उनीहरुले राष्ट्रपति लगायतका विभिन्न संस्थालाई भेटेर विपिनको रिहाइको माग गरेका छन् ।