काठमाडौं, २८ साउन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ।
मङ्गलबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड -२०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पुर्याएको चर्चा गर्नुभयो।
त्यस अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिवासी जनजातिको हकहित र अधिकारका सवालमा फोनिजले अझ गहिरो र प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारहरूले समुदायका आवाजलाई मुखरित गर्दै नीति निर्माण तहमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
फोनिजका अध्यक्ष लक्की चौधरीले आदिवासी जनजातिसम्बन्धी विषयलाई सशक्त रूपमा अघि बढाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा तालिम, गोष्ठी, अनुसन्धान र अन्तरराष्ट्रिय मञ्चमा सहभागितामार्फत आदिवासी पत्रकारिताको दायरा अझ विस्तार गर्ने योजना रहेको बताउनुभयो।
पत्रकार सम्मानित
त्यस अवसरमा आदिवासी जनजाति मलेसिया पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ सपना थामी र अनलाइनतर्फ ज्ञानेन्द्र तामाङलाई प्रदान गरियो। उक्त पुरस्कारको राशी जनही रु १० हजार थियो।
रु २५ हजार राशीको आदिवासी जनजाति युके पत्रकारिता सम्मान तथा पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ आश गुरुङलाई प्रदान गरियो। सोही विधामा टेलिभिजनतर्फ डोल्मा शेर्पालाई प्रदान गरियो।
आदिवासी जनजाति बागमती पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत रेडियोतर्फ पूर्णबहादुर मगर (राप्ती एफएम, चितवन)लाई रु पाँच हजार ५५५ सहित सम्मानित गरियो। फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान, २०८२ अन्तर्गत कोचिला सामाद राजवंशी भाषाको त्रैमासिक पत्रिका, झापालाई प्रदान गरियो। पुरस्कारको राशी रु ३१ हजार थियो ।
फोनिज राष्ट्रिय प्रवास पत्रकारिता सम्मान, २०८२ अन्तर्गत मच्छेदेवी गुरुङ (अमेरिका), फोनिज राष्ट्रिय पत्रकारिता सम्मान, २०८२ अन्तर्गत अमरध्वज लामा (रेडियो नेपाल)ले, सोही विधामा गजुर्धन राई (नेपाल टेलिभिजन)लाई प्रदान गरियो। पुरस्कारको राशी रु ३१ हजार थियो। साथै बन्दना दनुवार, मुनेश लायो मगर र सविन प्रियासनलाई जनही रु २५ हजारले सम्मान गरियो। रासस