काठमाडौँ, २० साउन
बुधबारसम्म मुलुकका छवटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।
विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ः०० बजेदेखि नदीको जलसतह घटेको जानकारी गराउनुभयो।
“बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ। तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो। अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ,” उहाँले भन्नुभयो, “आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक छ।”
बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ। रासस