धनुषा, १३ साउन
जनकपुरधाम उपमहानगरपालिका–४, जिरोमाइलमा गए राति भएको खुकुरी आक्रमणमा १५ वर्षीया किशोरीको ज्यान गएको छ भने उनकी आमा र भतिजी गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–४, बटेश्वर घर भई जिरोमाइलस्थित सूर्यनन्द चौधरीको घरमा डेरा गरी बस्दै आएकी अञ्जलीकुमारी यादव रहेकी छिन्। उनका साथमा रहेकी ३५ वर्षीया आमा आशा यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएका छन्।
मधेस प्रदेश प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार राति करिब ११:३० बजे घरमै सुतिरहेको अवस्थामा उनीहरूमाथि खुकुरी प्रहार गरिएको थियो। तीनैजनालाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि पुर्याइएको भए पनि चिकित्सकले अञ्जलीलाई राति नै मृत घोषित गरेका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनामा क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहको संलग्नता देखिएको जनाएको छ। पेसाले सवारी चालक रहेका साह हाल फरार छन् र प्रहरीले उनको खोजी तीव्र पारेको छ।
मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार, आरोपी साहले अञ्जलीकी आमा आशा यादवलाई लक्षित गरी आक्रमण गर्दा छोरी अञ्जली र भतिजी राधा बीचमा परे। “बचाउन खोज्दा छोरीको घाँटीमा गहिरो चोट लाग्यो, घटनास्थल अत्यन्तै विभत्स अवस्थामा भेटिएको छ,” डिआइजी चतुर्वेदीले जानकारी दिनुभयो।
घाइते आमाको अवस्था पनि अत्यन्तै गम्भीर रहेको छ। प्रहरीले उनको पहिचान गरिसकेको छ सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र बनाइएको छ।