काठमाडौं, १२ साउन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रलाई अघि बढाउने स्पष्ट पार्नुभएको छ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहमा ‘पर्यटन नीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “निजी क्षेत्र आत्मविश्वासका साथ अगाडि बढ्नुस्, सरकारले आवश्यक समन्वय गर्न तयार छ। निजी क्षेत्रको सक्रिय सहभागिता बिना सकारात्मक उपलब्धि हासिल गर्न सकिंदैन।”
संविधानसभाबाट जारी भएको २०७२ को संविधानसँगै संघीय प्रणाली कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत रूपमा काम अघि बढाइरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा छन् भने मन्त्रालयमार्फत १३ वटा विधेयक अगाडि बढाइसकिएको छ।
मन्त्री पाण्डेले २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै ल्याइएको ‘पर्यटन नीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल’ भन्ने अवधारणा नीति संरचनाकै मूल दृष्टिकोणका रूपमा समेटिएको जानकारी गराउनुभयो।
उनले भन्नुभयो, “नेपाललाई आकर्षक, जीवनभर सम्झनलायक अनुभव दिन सक्ने, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्न यो नीति ल्याइएको हो। यसले देशको आर्थिक समृद्धिमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।”